द हिमाल वर्ल्ड
सिलगढ़ी, 06 जनवरी, 2025 :
दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको राजनैतिक मुद्दा लिएर त्रिपक्षीय वार्ताका लागि केन्द्र सरकारले तयारी गरिरहेको अनि वार्ताको मिति चाँड़ै घोषणा गरिइने कुरा दार्जीलिङका लोकसभा सांसद राजु विष्टले जनाएका छन्।
सोमवार साँझ सांसद विष्टले नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसित भेटवार्ता गरेपछि एउटा विज्ञप्ति जारी गर्दै उक्त कुरोको जानकारी सांसदले दिएका हुन्। भेटवार्ता अवधि गृहमन्त्रीले त्रिपक्षीय वार्ताको निम्ति सरकारले पहल गरिरहेको अनि भारत सरकार, पश्चिम बंगाल सरकार र गोर्खाका विभिन्न प्रतिनिधिहरूलाई लिएर वार्ता आयोजन गर्ने बताएको सांसदले जनाएका छन्। केन्द्र सरकारले यस क्षेत्रका मानिसहरूको समस्या समाधान गर्न कटिबद्ध रहेको गृहमन्त्रीले पुन दोहोऱ्याएको पनि तिनले जानकारी दिएका छन्। सम्बन्धित सबै स्टेक होल्डरहरूका कुरालाई ध्यानमा राख्दै वार्ताको माध्यमबाट समाधानको बाटो निकाल्ने केन्द्र सरकारले पहल गरिरहेको पनि गृहमन्त्रीले आफूलाई बताएको सांसदले जनाएका छन्।
स्मरण गराइन्छ, दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको दीर्घकालीन राजनैतिक समाधानको दिशामा विगत 12 अक्टोबर 2021 –मा गृहमन्त्री अमित शाहकै अगुवाइमा त्रिपक्षीय वार्ता भएदेखि यता अहिलेसम्म एउटै पनि वार्ता हुनसकेको थिएन। 12 अक्टोबर 2021 –मा वार्ता भएपछि अर्को वार्ता सोही वर्षको लगत्तै तिहारपछि नोभेम्बरमा हुने बताइए पनि 2022, 2023 अनि 2024 –को तिहार आएर पनि गयो तर वार्ता भएन। अन्तत तीन वर्षपछि फेरि यस क्षेत्रको राजनैतिक समाधानको दिशामा केन्द्र सरकारले त्रिपक्षीय वार्ता आयोजन गर्ने तयारी गरिरहेछ।
Leave a Comment